कोरोना भाइरसका कारण विश्वका ठुला फिल्म फेस्टिभल स्थगित भएका छन् । तर यो अवस्थाले एउटा सुनौलो अवसर पनि जुटाइदिने भएको छ । पहिलो पटक संसारभरिका  फिल्म फेस्टिभलहरू एकै थलोमा हेर्ने मौका मिलेको छ । महामारीका कारण स्थगित भएका विश्वभरिका ठुला–ठुला फिल्म फेस्टिभलहरू एकै ठाउँमा समेटेर ग्लोबल तरिकामा अनलाइन प्रदर्शनी सुरु भएको हो । १० दिनसम्म सञ्चालन हुने ग्लोबल फिल्म फेस्टिभलमा १०० फिल्म प्रदर्शन गरिनेछ । २९ मे बाट सुरु भएको यस फेस्टिभल जुन ७ सम्म युट्युबमा अनलाइन प्रदर्शनी भइरहेको छ । दर्शकले घरमै बसेर निःशुल्क १० दिनसम्म फेस्टिभलका उत्कृष्ट फिल्महरू हेर्ने मौका पाएका छन् ।

यस ग्लोबल फिल्म फेस्टिभलमा, भेनिस फिल्म फेस्टिभल, कान्स फिल्म फेस्टिभल, टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभल, टोक्यो इन्टरनेसनल फिल्म फेस्टिभल, सनडान्स फिल्म फेस्टिभल, न्यु योर्क फिल्म फेस्टिभल, ट्रिबेका फिल्म फेस्टिभल, बीएफआई लन्डन फिल्म फेस्टिभल, बर्लिन इन्टरनेसनल फिल्म फेस्टिभल, लोकार्ने फिल्म फेस्टिभल लगायतका फिल्म फेस्टिभल सामेल भएका छन् । ट्रिबेका फिल्म फेस्टिभल आयोजना गर्ने कम्पनी ट्रिबेका इन्टरप्राइजेजले युट्युबसँग सहकार्य गरेर ‘वी आर वानः ए ग्लोबल फिल्म फेस्टिभल’ अनलाइन प्रदर्शनी सुरु गरेको हो ।