अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छिन् । उनी मङ्गलवार रुपन्देहीको सिमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् । नेपाल सरकारले सार्वजनिक गरेको लिपुलेक, लिम्पियाधुरासहितको नयाँ नक्साको समर्थनमा बोलेपछि भारतीय मिडियाको आँखाको तारो बनेकी उनी परिवारका सहित नेपाल आएकी हुन् । बेलहिया नाकाबाट प्रवेश गरेपछि उनी सिधै काठमाडौँ आएकी छिन् । मुम्बई बस्दै आएकी उनी आमा बुवासहित निजी गाडीमा नेपाल आएकी हुन् । भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक खड्काबहादुर खत्रीले पनि कोइराला परिवार नेपाल प्रवेश गरेको पुष्टि गरेका छन् । उनी काठमाडौँमा होटेल क्वारेनटाइनमा बस्ने बुझिएको छ । केही दिन अघि उनी नेपाल आउने खबर बाहिरिएको थियो तर उनी अकस्मात् के कारण लकडाउनका समयमा नेपाल आइन् त्यो उनले खुलाएकी छैनन् ।