बलिउड अभिनेता अमिताभ बच्चनले विवाहको ४७ औँ वार्षिकोत्सव मनाउँदै छन् । सामाजिक सञ्जालमा सक्रिय बच्चनले विवाहको ४७ औँ वार्षिकोत्सवको दिन इन्स्टाग्राममा जया र आफ्नो विवाहको फोटो सेयर गरेका छन् । उनले विवाहको तस्बिरसँगै विवाह पछाडिको रहस्य पनि खोलेका छन् । अभिनेत्री जयासँग हतार हतारमा विवाह गरेको उनले खोलेका छन् । उनी लेख्छन्, '४७ वर्ष... आज.. जुन ३, १९७३... !! यदि ‘जन्जिर’ ले बक्स अफिसमा राम्रो व्यापार गर्‍यो भने हामी (जया) केही अरू साथीहरूसँग पहिलो पटक लन्डन घुम्न जाने योजना बनाएका थियौँ । मेरो बुबाले कोको जाने भनेर सोध्नु भयो । मैले जब सबै जाने साथीहरूको बारेमा भनेँ, तब बुबाले पहिला मैले ऊ (जया) सँग विवाह गर्नुपर्छ भन्नुभयो । नभए जान पाउँदैनौ भन्नुभयो र मैले उहाँको कुरा मानेँ ।' अमिताभ र जया जन्जिर, अभिमान, चुपके चुपके, मिली र कभी खुसी कभी गम लगायतका चलचित्रमा सँगै काम गरेका छन् ।