अभिनेत्री मनिषा कोइराला तीन दिन अघि परिवार सहित मुम्बईबाट काठमाडौँ आएकी छिन् । कोरोना कहर र लकडाउनका बिच स्थलमार्ग हुँदै नेपाल आएकी उनी अहिले राजधानीको एक होटलको क्वारेन्टाइनमा बसेकी छन् । उनी सहित उनको परिवारको कोरोना टेस्ट पनि गरिसकिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ । विदेशबाट आएपछि १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियमअनुसार घर नगई अभिनेत्री उनी आफ्ना बुवा आमासँगै होटेलमा बसेकी हुन् । मुम्बईबाट गोरखपुर सम्म हवाई मार्ग र त्यहाँबाट गाडीमा भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् । क्वारेन्टाइनमा रहेका कारण उनले निश्चित आफन्तबाहेक अरूसँग भेटघाट गरेकी छैनन् । मनिषाले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको जारी गरिएको नयाँ नक्साको समर्थनमा बोल्दा भारतीय मिडिया लगायत जनता उनको विरुद्ध लागेका थिए । उनी के कारण नेपाल आइन् भन्ने बारे आधिकारिक रूपमा केही बताइएको छैन ।