बलिउड अभिनेत्री तापसी पन्नुका लागी गत वर्ष निकै शुभ रह्यो । उनका लगालग ५ चलचित्र सफल भए । योसँगै पन्नु बक्स अफिसमा सबैभन्दा सफल अभिनेत्री बनेकी छिन् । एक रिर्पोट अनुसार, तापसीका ५ चलचित्रले सामूहिक रूपमा ३५ करोड कमाउन सफल भएका छन् । ती ५ सफल चलचित्रमध्ये 'मिसन मङ्गल', 'गेम ओभर', 'बदला', 'साँडकी आँख' गत वर्ष रिलिज भएका थिए । चलचित्र ‘थप्पड’ यसै वर्षको मार्चमा रिलिज भएको थियो । थप्पडमा गरेको अभिनयले तापसीले आलोचनात्मक प्रशंसा कमाएकी थिइन् । सफल अभिनेत्रीको उपाधि पाएकी तापसीले यसले आफूलाई खुसी दिएको बताएकी छिन् । उनले ट्विटरमा लेखेकी छन्, “ओहो राम्रो । यो सफलता पाउँछु भनेर सोचेकै थिइन । क्वारेन्टिनको यो समयलाई केही रोकेर, यो खुसी प्रदान गर्न तय गरेको यात्रालाई फर्केर मनाउनुपर्छ जस्तो लागिरहेको छ । धन्यवाद ।” तापसीको यो सफलतामा उनका फ्यानहरूले अभिनयको तारिफ गर्दै शुभकामना दिएका छन् ।