कोरोना कहरले भारतलाई प्रभाव गरे देखी नै निरन्तर आर्थिक स्थिति कमजोर भएका रोजीरोटी गुमाएका मानिसलाई बलिउड अभिनेता अमिताभ बच्चनले सहयोग गरिरहेका छन् । भारतमा दिन दिनै सङ्क्रमितको सङ्ख्या बढिरहँदा लकडाउन केही खुकुलो बनाइए पनि जनजीवन प्रभावित नै छ । यस बिचमा पनि बच्चन कोरोनाका कारण समस्यामा परेकाहरूलाई सहयोग गर्नमा जुटिरहेका छन् । लकडाउनका कारण आफूले काम गर्ने ठाउँमा नै अड्किएका मजदुरको सहयोगमा उनी लागिपरेका छन् । भारतीय मिडियाका अनुसार अमिताभले मजदुरहरूलाई घरसम्म पुर्याउनका लागि प्लेनको व्यवस्था गरेका छन् । उनले वराणसीका ५ सय मजदुरलाई घर पुर्याउनका लागि तीन फ्लाइट बुक गरेका हुन् । उनले ती कामदारलाई घर फर्काउन इण्डिगो एयरलाइन्सको फ्लाइट बुक गरेको र कामदार लिएर बुधवार विमान बनारस जाने बताइएको छ । पहिलो फ्लाइट बुधवार बिहान १८० मजदुर लिएर उडिसकेको छ । बाँकी २ फ्लाइट पनि आजै उड्ने भारतीय मिडियाले उल्लेख गरेका छन् । उनले लकडाउनका कारण समस्यामा परेका विभिन्न का मानिसलाई घर फर्काउन बसको पनि व्यवस्था गरिदिएको बताइएको छ ।