साम्प्रदायिक र रङ्गभेदी पूर्वाग्रह बोकेको भन्दै चलचित्र 'गन विद द विन्ड' एचबीओ म्याक्सबाट हटाइएको छ । सन् १९३९ मा निर्माण भएको उक्त चलचित्र अमेरिकन स्ट्रिमिङ सर्भिसबाट हटाइएको हो । फिल्म अमेरिकन गृहयुद्धको सुटिङमा बनाइएको छ जसमा दास प्रथा प्रोत्साहित गरिएको आरोप छ । 'गन विद द विन्ड' लामो समयदेखि विवादित छ । तर, यसै महिना प्रहरी क्रूरताको सिकार बनेका ४६ वर्षे अफ्रिकी-अमेरिकी जर्ज फ्लोयडको न्यायको पक्षमा आवाज उठ्न थालेपछि यो विषय अझ चर्चामा आएको हो । एचबीओले यसबारे जानकारी दिँदै 'चलचित्र तत्कालीन समय दर्साउने सामग्री हो । पूर्वाग्रह बोक्ने त्यस चलचित्र त्यस समय पनि गलत थियो र वर्तमान समयमा पनि गलत नै छ ।' भनेको छ । यस चलचित्रले १० वटा अस्कर अवार्ड जितेको थियो । भने अभिनेत्री ह्याटी म्याकडानीयल यसै चलचित्रको लागि अस्करमा मनोनीत भइन् । अस्कर मनोनयनमा पर्ने उनी पहिलो एफ्रो अमेरिकन अभिनेत्री हुन् । त्यस्तै 'गन विद द विन्ड'ले सर्वाधिक ग्रस कलेक्सन गर्ने चलचित्रमा आफ्नो नाम लेखाएको थियो । मार्गारेट मिट्सेलको उपन्यासमा आधारित चलचित्रले एक पात्रलाई दासीको रूपमा प्रस्तुत गरेको छ । उक्त पात्र दास प्रथा हटाइए पछि पनि आफ्नो मालिकहरू प्रति बफादार रहन्छिन् । यसअघि एचबीओलाई रङ्गभेदी भएको भन्दै कार्टुन 'टम एण्ड जेरी' पनि हटाउन लगाइएको बताइएको छ ।