लकडाउनका कारण लामो समय ठप्प भएको बलिउड इन्डस्ट्री बिस्तारै सुचारु हुने तरखरमा छ । कोरोना सङ्क्रमण न्यूनीकरण गर्न भारत सरकारले जारी गरेको लकडाउन खुकुलो गर्दै छ । लकडाउन खुकुलो भएपछि छायाङ्कनमा रोकिएका चलचित्रको लागी पनि केही राहत मिलेको छ । अब बिस्तारै चलचित्रहरू सुरक्षा संयन्त्र अपनाएर छयान्कनमा निस्कने तयारी गर्दै छन् । छायाङ्कन गर्दागर्दै रोकिएको सलमान खान स्टारर चलचित्र 'राधे' को अब छायाङ्कन सुरु गरिने बताइएको छ । गएको इदमा रिलिज गर्ने तयारी गरिएको चलचित्रले छायाङ्कन नसक्दै काम बन्द गर्नु परेको थियो । महाराष्ट्र प्रदेशले जारी गरेको नियमलाई पालना गरी छायाङ्कनमा जान अनुमति दिएपछि चलचित्रको रोकिएको काम सम्पन्न गरिने भएको हो ।

राधे निर्देशक प्रभु देवाले एउटा गीत खिच्न बाँकी रहेको र यसलाई सुरुमा सकिहाल्ने बताएका छन् । गीत सुरुमा अजरबैजानमा खिचिने भनिएको थियो, तर अब स्टुडियोमा नै खिचिने बताइएको छ । गीतमा सलमान र अभिनेत्री दिशा पटानी देख्न सकिन्छ । गीत बाहेक चलचित्रको केही सट खिच्न बाँकी रहेको छ । यस चलचित्र सलमानको यस वर्ष सबैभन्दा धेरै प्रतीक्षित चलचित्र हो । इदको अवसरमा रिलिज हुन लागेको चलचित्र लकडाउनका कारण स्थगित भएको थियो । अब भने निर्माताहरुले दिवाली रिलिजको लागि लक्ष्य गरिरहेका छन् ।