लोकप्रिय बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आइतबार निधन भयो । उनले मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेका थिए । उनको अन्तिम संस्कार पनि सोमबार गरिसकिएको छ । निवासमा मृत भेटिएको एक दिन पछि, पुलिसले उनको मृत्युको समयमा रहेको मानसिक अवस्थाको बारेमा  खुलासा गरेको छ । डिप्रेसनको समस्या झेलिरहेका उनको निवासमा प्रहरीले यसको औषधी पनि फेला पारेको थियो । यद्यपि घटनास्थलमा कुनै सुसाइड नोट फेला भने परेको छैन । भारतीय मिडियाका अनुसार उनले आफ्नो मानसिक स्वास्थ्य उपचार मुम्बईको हिन्दुजा अस्पतालमा उपचार गराइरहेका थिए । उनको उपचारमा संलग्न चिकित्सकसँग यसबारे जानकारी लिन प्रहरी लागेको छ । यसैबिच सुशान्तको मृत शरीरको अस्थायी पोस्टमार्टम रिपोर्ट आएको छ जसमा मृत्युको कारण झुन्डिएको कारण एस्फीक्सिया भएको खुलासा गरिएको छ ।

पोस्टमार्टम मुम्बई म्युनिसिपल जनरल अस्पतालका डा. आरएन कूपरले गरेका थिए । प्रहरीले सिंहको निवासमा कुनै संकाशस्पद कुरा भेटेको छैन ।  उनले आफ्नी बहिनीसँग आइतबार बिहान ९ बजे फोनमा कुरा गरेका थिए । अनुसन्धान अनुसार उनले एक घण्टा पछि, एक गिलास जुस पिएका थिए र डिप्रेसनको औषधी खाएका थिए । कुक मेनु पुष्टि गर्न बिहान ११:०० बजे तिर उसको ढोका ढकढक्याउँदा जवाफ नआएपछि ढोका खोलेर हेर्दा उनी मृत भेटिएका थिए । त्यसपछि उनीहरूले सुशान्तकी बहिनी र पुलिसलाई खबर गरेका थिए । उनको यस असामयिक निधनले सम्पूर्ण बलिउड स्तब्ध बनेको छ । उनको मृत्युमा बलिउड कर्मी र उनका शुभचिन्तकले निकै दुख व्यक्त गरेका छन् ।