अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र बन्यो ‘दिल बेचारा’ । उनले यस चलचित्र प्रदर्शनमा नआउँदै यो संसार छाडे । मुकेश छाबडाको निर्देशनमा बनेको चलचित्र ‘दिल बेचारा’ लकडाउनका कारण रिलिज हुन पाएन । अब दर्शकले सुशान्तको अभिनय रहेको चलचित्र यो भन्दा पछि हेर्न पाउने छैनन् । लकडाउन र कोरोना प्रभावका कारण अब यो चलचित्र हलमा नभई डिजिटल प्लेटफर्ममै आउने भएको छ । चलचित्रमा सुशान्त र संजना सांघीको मुख्य भूमिका रहेको छ भने सैफ अलि खानको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । चलचित्र ८ मे का लागि रिलिज मिति तोकिएको थियो । यो अनुसार हलमा रिलिज भएको सुशान्तको अन्तिम चलचित्र ‘छिछोरे’ हो । जसलाई दर्शक तथा समीक्षकले राम्रो प्रतिक्रिया दिएका थिए । ‘दिल बेचारा’ हलिउड चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दी रिमेक हो ।