भारतीय अभिनेता सुशान्त सिंहले आत्महत्या गरेपछि सबै आश्चर्य चकित भएका छन् । उनको आत्महत्या नै हो या हत्या भन्ने विषय यति बेला निकै चर्चामा छ । सुशान्तको आत्महत्यालाई शङ्कास्पद रूपमा लिइएपछि प्रहरीले पनि छानबिनको दायरा बढाएको छ । यस प्रकरणको बारेमा यथार्थ बाहिर ल्याउन मुम्बई प्रहरीले अहिलेसम्म ९ जनाको बयान लिएको छ । छिट्टै उनकी गर्लफ्रेन्ड रिया चक्रवर्तीको पनि बयान रेकर्ड गर्ने तयारी गरिएको छ । बयानका लागी उनलाई चाँडै बोलाइने बताइएको छ । सुशान्तको घरमा सँगै बस्दै आएका क्रियटिभ म्यानेजर सिद्धार्थ पीठानी, घरको रेखदेख गर्दै आएका दिपेश सावंत, सामान ल्याउने भान्से, पिता केके सिंह, दुई बहिनी, मित्र महेश शेट्टीलगायतको बयान लिइसकिएको छ । अपार्टमेन्टका चाबीवालाको सुरुमै बयान लिइसकिएको छ । छिट्टै मुम्बईमा बस्दै आएकी राजपुतकी एक बहिनीको बयान लिइने छ । सुशान्तसँग जोडिएका सबै दस्ताबेज र प्रमाणमा आधारित भएर छानबिन अघि बढाएको हो । मङ्गलवार प्रहरी टोलीले उनको घरबाट केही कागजात, मोबाइल, सुशान्तका निजी चिकित्सकको फाइल र ल्यापटप जाँचका लागि जफत गरेको छ ।  यसै बिच बलिउडको गुटबन्दीको सिकार सुशान्त भएको र यसै कारण डिप्रेसनमा गएको भनाइ पनि बाहिर आएको छ ।