कोरोनाको कारण लामो समयदेखि सम्पूर्ण फिल्म इन्डस्ट्री बन्द भएको छ । पछिल्लो समय भारतमा सरकारले बिस्तारै लकडाउन खुकुलो गर्दै छ । यसै क्रममा मुम्बईमा जुन २० देखि फिल्म,टिभी सिरियल,वेब सिरिजको सुटिङ गर्न पाइने भएको छ । लकडाउनका कारण रोकिएको सुटिङहरू अब पुनः सञ्चालनमा आउने भएका छन् । छायाङ्कन गर्ने अनुमति दिइए पनि सरकारको गाइडलाइन पालना गर्नु पर्ने भएको छ । जसअनुसार सुटिङ सञ्चालन गर्न पहिला सम्बन्धित निकायमा अनुमति लिनुपर्नेछ । योसँगै छायाङ्कनमा ३३ प्रतिशत जनशक्ति मात्र सहभागी हुन पाइने छ । छायाङ्कन स्थलमा काम गर्ने सबैले मास्कको प्रयोग गर्नु पर्ने र भौतिक दुरी कायम गर्नुपर्ने सँगै मेकअप आर्टिस्टहरुले पीपीई लगाउनुपर्ने नियम ल्याइएको छ । मेकअप आर्टिस्टले कलाकारसँग सामाजिक दुरी कायम गर्न असम्भव रहेकोले अनिवार्य पीपीई लगाउन निर्देशन दिइएको हो ।