बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपूर, सञ्जय लीला भन्साली सहित आठ जना विरुद्ध मुद्दा दायर भएको छ । यी सहित आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको नाम पनि आएको छ। विहारका एक वकिलले आठ बलिउड व्यक्तित्वहरू विरुद्ध आपराधिक उजुरी दायर गरेका हुन् । अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको विषयलाई लिएर अधिवक्ता सुधीरकुमार ओझाले विहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ । यस घटनाको साक्षीको सूचीमा अभिनेत्री कङ्गना रनावतको नाम राखिएको छ । ओझाले सुशान्त सिंह राजपूतको मृत्युले विहारका जनतालाई मात्र होइन सारा देशलाई चोट पुर्‍याएको बताएका छन् । वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन् । राजपूतलाई साइन गरेका सात चलचित्रहरूबाट हटाइएको र उनका केही चलचित्र पनि रिलिज हुन नदिएको उल्लेख गरिएको छ । यस्तो अवस्था सिर्जना भएको कारण उनले आत्महत्या जस्तो कदम चाल्न बाध्य भएको उनको आरोप छ । अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ ।