बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको पनि एक साता बितिसकेको छ । यस बिच बलिउडमा निकै ठुलो हलचल भएको छ । बलिउडमा भएको नातावाद र परिवारवादको सिकार भएर सुशान्तले आत्महत्याको बाटो रोजेको भनी विरोध भइरहेको छ । पारिवारिक रूपमा नै बलिउडमा स्थापित भएका निर्माता निर्देशक र कलाकारका कारण बाहिरबाट आएर सङ्घर्ष गर्ने कलाकारको सुशान्तको जस्तो अवस्था भोग्नुपर्ने भएको भनी दर्शक बिच्किएका छन् । नातावादलाई बढवा दिन ठुलो भूमिका खेल्ने भन्दै सामाजिक सञ्जालमा केही कलाकार निर्माता निर्देशकलाई नै बहिष्कार गर्ने अभियान चलाइरहेका छन् । यसै कारण केही केही फिल्म कर्मीको सामाजिक सञ्जालमा फलोअर्सको सङ्ख्या ठुलो रूपमा घटिरहेको छ । धेरै आरोप, गाली गलौच र ट्रोल बन्न थालेपछि केही कलाकारले सामाजिक सञ्जाल नै डिलिट गरेका छन् भने केहीले प्राइभेसी अपनाएका छन् । यसै बिच अभिनेता अनिल कपुरकी छोरी सोनम कपुरले पनि इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी छिन् । उनी पनि परिवारवादको उपज भएको र आफ्नो अहमलाई नछोड्ने भन्दै सामाजिक सञ्जालमा उनको व्यापक विरोध भइरहेको छ । सोनमले दिएको अभिव्यक्तिका कारण झन् धेरै उनको विरोध भएको हो । सामाजिक सञ्जालमा भएको विरोध सहन नसकिने भएपछि उनले कमेन्ट सेक्सन नै हटाएर इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएकी हुन् । यसबारे उनले आफुले आफ्ना आमा बुवा र परिवारकै सामाजिक सञ्जालमा यस्तो गरेको बताएकी छिन् । आफ्ना पाका उमेरका अभिभावकले यी सब समस्या झेल्नु नपरोस् भनी यो कदम उठाएको प्रस्ट पारेकी छिन् । यस अघि सोनाक्षी लगायत केही कलाकारले आफ्नो ट्विटर अकाउन्ट बन्द गरेका छन् ।