पछिल्लो समय कोरोना महामारीका कारण हलहरू बन्द हुँदा प्रदर्शनको तयारीमा रहेका चलचित्र निकै मारमा परेका छन् । दिन दिनै कोरोना सङ्क्रमण बढिरहँदा हलहरू कहिले सम्म बन्द हुने यकिन गर्न सक्ने स्थिति छैन । यसै कारण निर्माण भैसकेका चलचित्र होल्डमा राख्नु भन्दा डिजिटल रिलिज गर्दा नै फाइदा हुने देखिए पछि बलिउड निर्माताहरुले एक पछि अर्को चलचित्र धमाधम डिजिटल रिलिज गरिरहेका छन् । यसै बिच विद्या बालनको अभिनित चलचित्र 'शकुन्तला देवी' ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ । विद्याले चलचित्र ३१ जुलाईबाट डिजिटल प्रदर्शन हुने जानकारी आफ्नो ट्विटर बाट दिएकी छिन् । अमेजनले प्राइमले पनि 'शकुन्तला देवी'को ग्लोबल प्रिमियरको घोषणा गरेको छ । विद्याले आफ्नो ट्विटर ह्यान्डलमा एक मिनेटको भिडियो शेयर गरेर फिल्म घोषणाको जानकारी गणितीय स्टाइलमा दिएकी छिन् । विद्याले लोकप्रिय भारतीय गणितिज्ञ शकुन्तला देवीको भूमिका निभाउँदै छिन् जसलाई 'ह्यूमन कम्प्युटर' पनि भनिन्छ । चलचित्रलाई अनु मेननद्वारा निर्देशन गरेका छन् । यस चलचित्र ८ मेमा हलमा प्रदर्शनका लागि तय भएको थियो ।