अजय देवगनको आगामी चलचित्र ‘मैदान’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । ३५ प्रतिशत छायाङ्कन बाँकी हुँदा नै चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । कोरोना भाइरसको प्रभावले छायाङ्कन लगायत काम रोकिएको चलचित्र आउँदो वर्ष सन् २०२१ को अगस्ट १३ मा प्रदर्शन हुने बताइएको छ । यसबारे अभिनेता अजयले ट्विटर मार्फत जानकारी दिएका हुन् । देवगन लेख्छन्, '२०२१ स्वतन्त्रता दिवसको हप्ता । अहिलेसम्म नसुनेको कहानी, जुन सबै भारतीयलाई गर्व महसुस हुनेछ । १३ अगस्ट मार्क गर्नुहोस् ।' कोरोना महामारीमा सावधानी अपनाउँदै अवस्था सामान्य भएपछि छायाङ्कन सुरु गर्ने चलचित्र युनिटको योजना रहेको छ । अमित शर्मा निर्देशित ‘मैदान’ लाई अजयको महत्त्वाकाङ्क्षी प्रोजेक्ट मानिएको छ । चलचित्रमा उनी भारतीय फुटबल कोच सैय्यद अब्दुल रहीमको भूमिकामा छन् । फिल्मको निर्देशन नेशनल अवार्ड विजेता अमित रविंद्रनाथ शर्माले गरिरहेका छन् ।