बलिउड निर्माता तथा निर्देशक हरिश शाहको निधन भएको छ । सुपरस्टार राजेश खन्नादेखि सनी देओलसम्मलाई काम गराएका शाहको मङ्गलवार निधन भएको हो । लामो समयदेखि घाटीको क्यान्सरबाट पीडित उनी ७६ वर्षका थिए । उनको बुधवार पवन हंस घाटमा अन्त्येष्टि गरियो । कोरोना महामारीका कारण अन्तिम संस्कारमा परिवारका सदस्य र आफन्त मात्रै सहभागी हुन पाएका थिए । उनले निर्माण गरेको राजेश खन्ना र तनुजा अभिनित चलचित्र ‘मेरे जीवनसाथी’ अहिले पनि उत्तिकै सम्झिइन्छ । उनले १९७२ मा भाइ विनोद शाहसँग मिलेर यस चलचित्र निर्माण गरेका थिए । शाहले फिरोज खान र परवीन बबीको अभिनय रहेको 'काला सोना', सन् १९८५ मा सञ्जीव कुमार र रेखाको फिल्म 'राम तेरे कितने नाम' देखी ऋषि कपुर र नीतू कपुरको 'धन दौलत', ‘जलजला’, ‘अब इन्साफ होगा’ लगायत चलचित्रमा आफ्नो निर्देशकिय कौशल देखाएका थिए । उनले निर्देशन गरेको अन्तिम चलचित्र भने सनी देओल र तब्बूको फिल्म ‘जाल द ट्रैप’ हो । उनको निधनले बलिउडमा निकै ठुलो क्षति भएको भन्दै बलिउडकर्मीले उनलाई सम्झिएका छन् । पछिल्ला केही महिना यता बलिउडका निकै चर्चित र सफल कला कर्मीको एक पछि अर्को गर्दै निधन भइरहेको छ । जसको शोकमा बलिउड परेको छ ।