भारतमा तीव्र गतिले फैलिरहेको कोरोना भाइरस कलाकार तथा उनीहरूको परिवारमा पनि देखिन थालेको छ । शनिवार बलिउड अभिनेता अमिताभ बच्चन र छोरा अभिषेक बच्चनलाई कोरोना पोजेटिभ देखिएको थियो । यस सँगै अभिनेता अनुपम खेरको परिवारका सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । अभिनेता खेरले सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै आफ्नी आमा, दाइ, भाउजू र भतिजीलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो परिवारले  उच्च सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमण देखिएको र आफूले पनि टेस्ट गराएको लेखेका छन् । उनका अनुसार उनको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरूमा कोरोनाको लक्षण हल्का मात्र देखिएको र अस्पताल भर्ना गरिएको खेरले जनाएका छन् । योसँगै बलिउडकी अर्की हस्ती अभिनेत्री रेखाका सेक्युरिटी गार्डमा पनि कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । सेक्युरिटी गार्डमा कोरोना देखिएपछि रेखाको मुम्बईस्थित बान्द्रामा रहेको घर सिल गरिएको छ । साथमा गार्डको सम्पर्कमा आएकाको कोरोना टेस्ट गराइने भारतीय मिडियाले जनाएका छन् ।