हरेक विषयमा आफ्नो विचार खुलेर राख्ने बलिउड अभिनेत्री कङ्गना रनावत बेलाबेला विवादमा आइरहन्छिन् । पछिल्लो समय नातावादको विषयमा निरन्तर बोल्दै आएकी रनावत चर्चामा आएकी छिन् । उनले एक अन्तर्वार्तामा आफ्नो भनाइ राख्ने क्रममा नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करलाई ‘बी ग्रेड’का नायिका भनेकी थिइन् । जसले फेरी बलिउडमा एक पटक हलचल मच्चिएको छ । कङ्गनाको यस भनाइको कारण तापसी असन्तुष्ट देखिएकी छिन् । उनले कङ्गनाको यस भनाइ आए लगत्तै आफू करणको निकट नरहेको र करणलाई व्यक्तिगत रुपमा राम्रोसँग नचिन्ने बताउँदै सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गरेकी छिन् । उनले बलिउडमा दिइएको यो ग्रेड अफिसियल नै भएको हो र? भनी प्रश्न गरेकी छिन् । साथै तापसीले आफूलाई कङ्गना र उनकी बहिनिले भने अनुसार नगर्दा यसरी पछि लागेको समेत बताएकी छिन् । उनी लेख्छिन्, 'बलिउड पृष्ठभूमिबाट नआएका हामी जस्ता कलाकारको केही मानिसहरू मजाक बनाइरहेका छन्, जुन क्षेत्रले हामीलाई धेरै कुरा दिएको छ उही क्षेत्रलाई मजाक बनाउँदा दुख लाग्छ' । साथै उनले आफू कसैको मृत्युलाई आफ्नो फाइदाको बाटो नबनाउने समेत स्पष्ट पारेकी छिन् । पछिल्लो समय तापसी रुचाइएको र एक पछि अर्को सफल चलचित्र दिइरहेकी अभिनेत्री हुन् ।