बलिउडमा नातावाद र समूहवादको नाममा कलाकारबिच आरोप प्रत्यारोप चलिरहेका बेला निर्देशक, निर्माता तथा लेखन अनुभव सिन्हाले सबैलाई अचम्मित बनाउने निर्णय लिएका छन् । 'रा वन्' 'मुल्क', 'आर्टिकल १५' र 'थप्पड' जस्ता व्यापारिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र बनाएका उनले बलिउड परित्यागको घोषणा गरेका छन् । ट्विटरमा एक सन्देश लेख्दै उनले आफूले बलिउड छोडेको जानकारी दिएका हुन् । उनले ट्विटरमा लेखेका छन्, 'धेरै भयो । अब म बलिउडबाट राजीनामा दिँदै छु । अब यसको जेसुकै मतलब होस् ।' आफूले बलिउड त्याग गरेको सार्वजनिक मात्र गरेका छैनन् सिन्हाले ट्विटरमा आफ्नो प्रोफाइल नाम समेत परिवर्तन गरेका छन् । उनले आफ्नो नाम अनुभव सिन्हाको पछाडि (नट बलिउड) थपेका छन् । उनको यस निर्णयमा फरक फरक मत सहितका प्रतिक्रिया आएका छन् । उनले अर्को एक ट्विट सेयर गर्दै अरूलाई पनि बलिउड यस मैदानबाट बाहिर निस्किएर आफ्नो काम गर्न अनुरोध गरेका छन् । उनले कसैको पछि लागेर र इसारामा नाचेर नहुने ब ताएका छन् । यसले बलिउडमा चलेको नातावाद र गुटबन्दीको बहस र यथार्थलाई सत्य र निकै ठुलो जन्जालले घेरिएको भन्ने पुष्टि गर्छ ।