अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ शुक्रवार (आज) रिलिज हुँदै छ । चलचित्र बेलुका ७३० बजे अनलाइनमा रिलिज गरिँदै छ । गत महिना आत्महत्या गरेका सुशान्तको यस प्रतीक्षित चलचित्र भारत, अमेरिका, युके र क्यानडाका डिज्नी प्लस हटस्टारका सब्सक्राइबर र ननसब्सक्राइबर दुवैका लागि एकैसाथ प्रिमियर हुँदै छ । सुशान्तलाई समर्पण गर्दै चलचित्र सबैका लागि निःशुल्क देखाउने निर्णय निर्माण पक्षले लिएको हो । डिज्नी प्लस हटस्टारका ग्राहक नभए पनि चलचित्र हेर्न पाउनेछन् । यस चलचित्र जोन ग्रिनको किताब ‘फल्ट इन आवर स्टार’ र सन् २०१४ मा रिलिज भएको सोही नामको हलिउड चलचित्रको हिन्दी रिमेक हो ।

मुकेश छाब्राको निर्देशकीय डेब्यु यस चलचित्रमा सुशान्त र सन्जना सान्घीको मुख्य भूमिका रहेको छ । सन्जनाको यो डेब्यु चलचित्र हो । सन्जना र सुशान्तका साथमा चलचित्रमा उनीहरूका साथै सैफ अली खान, स्वस्तिका मुखर्जी र जावेद जफरीको पनि अभिनय रहेको छ । केही हप्ता अघी रिलिज गरिएको चलचित्रको ट्रेलरले चौबिस घण्टाभित्र धेरै लाइक कमाएर हलिउड चलचित्र ‘एभेन्जर्स एन्ड गेम’ को रेकर्ड तोडेको थियो ।