ब्रिटिस एकेडेमी फिल्म (बाफ्टा टिभी) अवार्ड २०२० सम्पन्न भएको छ । जुलाई ३१ मा भर्चुअल कार्यक्रम आयोजना गरी अवार्ड सम्पन्न गरिएको हो । महामारी र लकडाउनका कारण वर्षको सुरुवातमा हुनुपर्ने कार्यक्रम स्थगित भएको थियो । २०१९ मा प्रसारित कार्यक्रम, प्राविधिक, कलाकार लगायत पुरस्कृत भएका हुन् । अवार्डमा स्काइ एट्लेन्टिकमा प्रसारण हुने ‘सेर्नोबिल’का मुख्य अभिनेता ज्यारेड ह्यारिसले उत्कृष्ट अभिनेताको उपाधि पाए भने बिबिसी वानको ‘एलिजाबेथ इज मिसिङ’की ग्लेन्डा ज्याकसन उत्कृष्ट अभिनेत्री ठहरिइन् । बिबिसीकै ‘ब्लु प्लानेट लाइभ’ले उत्कृष्ट प्रत्यक्ष प्रसारण भएको कार्यक्रम ठहरियो । स्काइ न्युजले हङकङमा भएको आन्दोलनबारे तयार गरेको समाचार सामाग्रीले पनि अवार्ड पाएको छ । यसै गरी रियालिटी सो पट्टी बिबिसी टूको ‘रेस अक्रस द वर्ल्ड’ उत्कृष्ट घोषित भयो भने बिबिसी टुकै ‘लास्ट सर्भाइभर’ सिंगल डकुमेन्ट्रीतर्फको विजेता बन्यो । बिबिसी टूको ‘द मिसएड्भेन्चर्स अफ रोमेश रंगनाथान’ले फिचरतर्फको अवार्ड जित्यो । कोरोना महामारी कहिले अन्त्य हुने भन्ने निश्चित नभएपछि स्थगित भएको यस अवार्डलाई भर्चुअल्ली आयोजना गरिएको हो ।