बुधवार सार्वजनिक भएको बलिउड चलचित्र 'गुञ्जन सक्सेना : द कार्गिल गर्ल' विवादमा तानिएको छ । रिलिज भएको भोलिपल्ट अर्थात बिहीबार नै चलचित्र विरुद्ध भारतीय वायु सेनाले निवेदन दिएको छ । वायु सेना बारे नकारात्मक प्रचार गरिएको भन्दै सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी)मा भारतीय वायु सेनाले पत्र पठाइएको हो । सेनाले सीबीएफसीलाई सम्बोधन गर्दै लेखेको पत्र नेट्फ्लिक्स र धर्मा प्रोडक्सनलाई पनि पठाएको छ । धर्मा प्रोडक्सनले भारतीय वायु सेनालाई जिम्मेवार ढङ्गमा प्रस्तुत गर्ने र आगामी पुस्तालाई यस क्षेत्रमा लाग्न प्रेरणा दिने सहमतिसहित अनुमति पाएको थियो तर वायु सेनालाई खराब प्रमाणित गर्ने अवस्थाहरू देखाइएकोले भारतीय वायु सेनाले असहमति जनाएको हो ।
फिल्म प्रदर्शनअघि निर्माण कम्पनीले अन्य क्लिप समेत सेनामा पठाएको थियो उक्त क्लिपहरू हेरे पछि आवश्यक सम्पादन र केही दृश्य हटाउन निर्देशन दिइएको थियो । तर, फिल्म जस्ताको त्यस्तै सार्वजनिक सम्पादनको सट्टा 'डिस्क्लेमर'मा प्रस्टीकरण दिइएको छ । पूर्व एयर फोर्स कमान्डर गुञ्जन सक्सेनाको जीवनमा आधारित फिल्ममा जान्वी कपुरको मुख्य अभिनय रहेको छ । यस चलचित्र प्रदर्शनअघि पनि विवादमा आएको थियो । फिल्म विरुद्ध पठाइएको पत्रमा गुञ्जन सक्सेनालाई 'ग्लोरिफाइ' गर्नका लागि सङ्गठनलाई गलत ढङ्गमा प्रस्तुत गरिएको उल्लेख गरिएको छ ।