बलिउड अभिनेता सुशान्त सिंह राजपुतलाई मरणोपरान्त सम्मान गरिएको छ । क्यालिफोर्निया राज्य विधान सभाले चलचित्र क्षेत्र तथा समुदायमा उनले पुर्‍याएको योगदानका लागि सम्मान गरेको हो । भारतीय मिडियाका अनुसार सुशान्तलाई समर्पित गरिएको प्रमाण पत्र सुशान्तकी बहिनी श्वेता सिंह कृतिले सार्वजनिक गरेकी हुन् । यसबारे जानकारी दिँदै बहिनी श्वेताले भारतको स्वतन्त्रता दिवसको अवसरमा क्यालिफोर्नियाले आफ्नो दाइ सुशान्तलाई समुदायको हितका लागि योगदान पुर्‍याएको भन्दै कदर गरेको भनी सामाजिक सञ्जालमा लेखेकी छिन् । सुशान्त जुन १४ मा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए । भारतीय मिडियाले सुशान्तलाई यस वर्ष राष्ट्रिय पुरस्कारमा समेत मरणोपरान्त सम्मानित गरिने खबर बाहिरिएको उल्लेख गरेका छन् ।