कोभिड-१९ बाट सङ्क्रमित बलिउड अभिनेता अमिताभ बच्चन सङ्क्रमण मुक्त भएपछि काममा फर्किएका छन् । लामो समयको अस्पताल बसाइ र उपचार पछि उनी 'कौन बनेगा करोडपति'को छायाङ्कनका लागि निस्किएका हुन् । उनले सञ्चालन गर्दै आएको यस सोलाई निरन्तरता दिँदै उनले काम सुरु गरेका हुन् । यसबारे जानकारी दिँदै आइतबार बच्चनले इन्स्टाग्राममार्फत् छायाङ्कन स्थलको एक तस्बिर सार्वजनिक गर्दै 'पीपीइको सागर बिच काममा फर्किएँ' लेखेका छन् । उनले यसै पोस्ट मार्फत कौन बनेगा करोडपति सुरु भएको २० वर्ष पुगेको जानकारी समेत दिएका छन् । यस कार्यक्रम पहिलो पटक सन् २००० मा सार्वजनिक भएको थियो । बच्चनले यस वर्ष आफ्नो लागि विशेष भएको बताएका छन् ।