बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले यति बेला भिन्न रूप लिएको छ । सुशान्तको मृत्यु आत्महत्या कै कारण भएको हो वा हत्या भएको हो भन्ने विषयको छानबिन यति बेला सिबिआइले गरिरहेको छ । यसै बिच यस घटनाले अर्को रूप लिएको हो । राजपुतको आत्महत्या प्रकरण लागु औषधसँग जोडिएको तथ्य बाहिर आएको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको सामाजिक सञ्जालका म्यासेजले यस घटनासँग ड्रग्सको कनेक्सन देखाएको हो । ड्रग्सको कनेक्सन देखिएसँगै नारकोटिक्स ब्युरोले पनि जाँच सुरु गरेको छ । केही दिन यता रियाको सामाजिक सञ्जालका म्यासेज बाहिरिएका छन् जसले यस घटना ड्रग्ससँग जोडिएको देखाएको हो । रिया र सुशान्तकी पूर्व बिजनेस मेनेजर श्रुति मोदीसँगको कुराकानीमा औषधि दिँदा पनि ठिक हुन नसकेको कुरा उल्लेख गरिएको छ । रियाले सुशान्तले गाँजा छोड्नुपर्ने र भोलिबाट छोड्छु भनेको कुरा पनि पूर्व म्यानेजर मोदीसँगको म्यासेजमा लेखेकी छन् ।
यस अघि १७ अप्रिलमा रियालाई मिरांडा सुशी नाम गरेका व्यक्तिले पठाएको म्यासेजबाट ड्रग्स मगाएको भन्ने खबर पनि बाहिरिएको छ जसमा मिरांडाले माल (ड्रग्स) सकिएको र शौविकको साथीबाट लिन सक्छौँ ? भनेर रियालाई प्रश्न समेत गरेका छन् । यो सँगै रियाको अर्को म्यासेज पनि बाहिरिएको छ जुन २५ नोभेम्बर २०१९ मा रियाले जया शाहलाई लेखेकी थिइन् । जसमा लेखिएको थियो, 'कफी, चिया वा पानीमा मात्र ४ थोपा हालेर उसलाई पिउन देऊ यसको असर ३० देखि ४० मिनेटमा आउनेछ । यो म्यासेज डिलिट गरिएको थियो । छानबिनका क्रममा रिकभर गरेर हेर्दा डिलिट गरिएको यो म्यासेज बाहिर आएसँगै सुशान्त केस नयाँ मोडमा आइपुगेको छ ।