बलिउड चलचित्र 'सडक २' ले नराम्रो प्रतिक्रिया पाएको छ । अगस्ट २८ मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको यस चलचित्रलाई आइएमडीबीमा जम्मा १.१ रेटिङ मिलेको छ । चलचित्रलाई दर्शकले मात्र नराम्रो प्रतिक्रिया दिएका होइनन् चलचित्रलाई बलिउड समीक्षकहरूले पनि निकै खराब भनेका छन् । बलिउड समीक्षक तरण आदर्शले चलचित्रलाई १ स्टार दिँदै निकै निम्न स्तरको भनेका छन् । केही समय अघी रिलिज भएको चलचित्रको ट्रेलरले युट्युबमा डिसलाइकको रेकर्ड नै राखेको थियो । चलचित्रमा सञ्जय दत्त, आलिया भट्ट, आदित्य रोय कपुर लगायतका कलाकारको मुख्य भूमिका छ । ट्रेलर रिलिज भएसँगै आएको नराम्रो प्रतिक्रिया र निर्देशक महेश भट्टको ब्यान्ड नै बहिस्कार गरेपछि चलचित्रलाई दर्शकले बहिस्कार गर्ने अनुमान त गरिएको नै थियो । तर समीक्षकले पनि यसरी चलचित्रलाई निम्न स्तरको प्रतिक्रिया देलान् भन्ने अपेक्षा गरिएको थिएन । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले उठाएको नातावादको मुद्दाले दर्शक भड्किएका छन् । योसँगै निर्देशक भट्ट र सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको सम्बन्धको कारण यस विषय अझ माथि उठेको छ ।