भारतीय चर्चित रियालिटी शो 'बिग बोस' को नयाँ संस्करण हुने क्रममा छ । यस शोको १४ औँ संस्करणमा पनि कार्यक्रम प्रस्तोता सलमान खान नै रहने भएका छन् । नयाँ सिजनको यस कार्यक्रमका लागि सलमानले हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिँदै छन् । बलिउड मिडियाले यो बलिउडमा अहिलेसम्म कै सर्वाधिक पारिश्रमिक हो । बिग बोस छायाङ्कनका लागि सलमानले ३ महिनाभर सातामा एक दिन दिनेछन् । कार्यक्रम अक्टोबरदेखि प्रसारण हुनेछ भने यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन् । तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३ जना सर्वसाधारण । सेप्टेम्बरदेखि नै प्रसारण हुने भनिएको कार्यक्रम बिगबोसको घर निर्माणमा ढिलाइ हुँदा छायाङ्कनमा ढिलाइ भएको छ । साथै कोरोना महामारीले पनि कार्यक्रममा धेरै प्रभाव परेको छ । सहभागीहरू बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरूको कोरोना भाइरस परीक्षण गरिने र पूर्ण सुरक्षा अपनाएर कार्यक्रम सञ्चालन गरिने छ ।