कोरोना भाइरस महामारीका बिच 'भेनिस फिल्म फेस्टिभल' हुने भएको छ । विश्वको सबैभन्दा पुरानो फिल्म महोत्सव इटालीमा फिल्म फेस्टिभलको तयारी भइरहेको छ । कोरोना महामारीका कारण टेम्प्रेचर स्क्यानर, अनिवार्य रूपमा मास्क लगाउनु पर्ने र भौतिक दूरी कायम राख्दै फिल्म देखाइन स्क्रिन जडान भएका छन् । कोरोना महामारीको प्रभाव सर्वाधिक परेको इटाली कोभिड-१९ विरुद्ध सुरक्षा रणनीतिसहित कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो । सेप्टेम्बर २ देखि हुने फेस्टिभल १० दिनसम्म चल्नेछ तथा आयोजक र स्थानीय दर्शक बाहेक अन्य देशबाट आउने आगन्तुकले पनि सुरक्षाका लागि जारी गरेको निर्देशन पालना गर्नु पर्ने बताइएको छ । इटालीको सेङ्गेन बाहिरबाट आएका आगन्तुकले अनिवार्य दुई पटक कोभिड परीक्षण गर्नु पर्ने र कार्यक्रम सकिए पछि पनि 'ट्रेसिङ एण्ड टेस्टिङ' हुने निर्देशिकामा उल्लेख गरिएको छ।