कोरोना महामारी सुरु भएसँगै बलिउड अभिनेता सोनु सुदले प्रेरणादायी काम गरिरहेका छन् । लकडाउनले भारतका विभिन्न स्थानमा अड्किएका मजदुर तथा अन्य निम्न आय भएका कामदारलाई आफ्नो घर फर्काउन देखी रोजगारी दिने र अन्य विभिन्न किसिमका सहयोग गरिरहेका छन् । यसले उनलाई निकै चर्चित बनायो । दैनिक जीविकोपार्जनमा अप्ठ्यारो पर्नेका लागी उनी निकै प्रिय भए किनकि उनले खोसिएको गाँस मात्र दिएका छैनन् धेरैका लागी प्रेरणा बनिरहेका छन् । यसै बिच उनी फेरी चर्चामा आएका छन् । सुदले सिङ्गो गाउँका युवाहरूलाई प्रेरित गरेका छन् । उनले भारतको एक विकट गाउँमा सडक निर्माण गर्न प्रेरणा गरेका छन् । आन्ध्र प्रदेश राज्यको विजियनगरम जिल्ला, सालुरू मण्डलमा युवाले कुनै सरकारी अधिकारी र सहयोग बिना नै गाउँमा सडक निर्माण गरेका छन् । ७० वर्षदेखि मुख्य सडकसँग नजोडिएका आदिवासी गाउँहरू कोडामा, चिन्तामाला, बारा, सिरीवारामा प्राथमिक स्वास्थ्य केन्द्र पुग्न नै ५ किमी पैदल हिँड्नु पर्छ । गाउँका आदिवासी नेता मालाती डोरीकाका अनुसार सडक निर्माण गर्दिनका लागि सरकारलाई धेरै निवेदनहरू पठाइएका थिए, तर अधिकारीहरूले यस क्षेत्रका लागि कुनै प्रयास गरेनन् ।

सोनुबाट प्रेरित भएर युवाहरूले २ महिनाभित्र सडक निर्माण सम्पन्न गरेको बताएका छन् । पेसाले खेती किसानी भए पनि बिस्तारै त्यहाँका मानिसले स्मार्टफोनको प्रयोग गर्न थालेका थिए । उनीहरूले सोनु सूदले लकडाउनको समयमा गरेको सहयोगको भिडियो, फोटो तथा समाचार सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा आएका खबर हरू पछ्याइरहेका थिए ।  सोनुको यस्तै प्रेरणादायी भिडियो ती युवाहरूले हेरेपछि युवाहरूले सरकारी तथा गैरसरकारी सहयोग नलिएर आफ्नै पहलमा गाउँमा सडक निर्माण गर्ने फैसला गरे । निर्माणका लागि गाँउलेहरु कै सहयोगमा चन्दा सङ्कलन गरेर युवाहरूले नै श्रम दान गरे, सबै मिलेर कुल २० लाख रुपैयाँ जम्मा गरे, करिब १० लाख रुपैयाँ त स्थानीय पसल सञ्चालक एवं व्यापारीले जुटाए, नपुगेको ३० लाख जुटाउन महिलाहरूले आफ्ना गर गहना समेत धितो राखे । यसको कसैले विरोध गरेनन् । जसको फलस्वरूप दुई महिना भित्र आन्ध्र प्रदेशको चिन्ता मालादेखि ओडिशाको सबकुमारीसम्मका लागि ६ किलोमिटर र कोडामादेखि बारीसम्म ५ किलोमिटर सडक विस्तार भयो । यसरी आफ्नो कामबाट प्रभावित भएर समुदाय स्तरबाट नै यती साहसिक काम सम्पन्न गरेकोमा सोनुले खुसी व्यक्त गरेका छन् । युवा र स्थानीयहरूको यस प्रयासको प्रशंसा गर्दै उनले ट्विट गरेका छन् । उनले यसरी जिम्मेवारी काँधमा बोकेर सबैलाई प्रेरणा दिने युवाहरूको अझै धेरे खाँचो भएको भन्दै चाँडै त्यहाँ जानेसमेत बताएका छन् ।