अभिनेत्री निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कम ब्याक गरेकी छिन् । उनले 'तेनाली रामा' नामक हिन्दी सिरियलबाट कम ब्याक गरेकी हुन् । उनको केमियो भूमिका रहेको यस सिरियलको  प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई फरक भूमिकामा देख्न सकिन्छ । सिरियलमा निरिषा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत रहेको प्रोमोमा देख्न सकिन्छ । प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ । आफूले निर्वाह गरेको भूमिकाको फस्ट लुक सार्वजनिक गर्दै उनले आफ्नो भूमिकाको बारेमा जानकारी दिएकी छिन् । निरिषा भन्छिन्, 'मेरो क्यारेक्टर चीनको हिङडोङ्ग राज्यको महाराजाको प्रवक्ताको हो । सिरियलमा मेरो प्रवेश भएपछि नयाँ ट्विस्ट आउँछ' । यस सिरियल भारतीय च्यानल 'सोनी सब'बाट सोमवार र शुक्रवार प्रसारण भइरहेको छ । यसअघि हिन्दी सिरियल 'चन्द्र नन्दिनी' मा काम गरेकी उनले नेपाली चलचित्र 'जानी नजानी'बाट अभिनेत्रीको रूपमा डेब्यू गरेकी थिइन् ।