तेलगुका कुशल एवं लोकप्रिय अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । मङ्गलवार हृदयाघातका कारण रेड्डीको ७४ वर्षको उमेरमा निधन भएको हो । उनको आन्ध्र प्रदेशको गुन्टूरमा रहेको आफ्नै निवासमा निधन भएको भारतीय मिडियाले जनाएका छन् । खलनायक तथा कमेडी भूमिकाका लागी सर्वाधिक रुचाइएका रेड्डी सन् १९८८ मा बनेको चलचित्र 'ब्रह्मा पुत्रुडु'बाट अभिनय यात्रा सुरु गरेका थिए । उनको निधनमा आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु लगायत उनका शुभचिन्तकले दुःख व्यक्त गरेका छन् । रेड्डी जस्ता तेलगु फिल्मका दिग्गज कलाकारको निधनले तेलगु फिल्ममा अपूरणीय क्षति पुगेको जनाउँदै दुख व्यक्त गरेका छन् । जयप्रकाश रेड्डीले तेलगुका सफल चलचित्र चित्रम भालारे विचित्राम, जाम्बा लाकिडी पम्बा, प्रेमेन्चुकुण्डम रा, समरसिंहा रेड्डी, अवुनू वल्लीदरु इस्त पाद्दारु, पल्लति ब्राह्मणयुदु, अमर अकबर एन्थोनी, नेला टिकट, जम्बा लाकिडी पम्बा लगायत सयौं चलचित्रमा अभिनय गरेका छन् । उनको चलचित्र 'समरसिम्ह रेड्डीले' उनलाई निकै सफलता दिलाएको थियो । रेड्डीको निधनमा साउथका स्टार महेश बाबु, जुनियर एन्टिआर, प्रकाश राजा लगायतले शोक व्यक्त गरेका छन् ।