बलिउड अभिनेता संजय दत्त फोक्सोको क्यान्सर भएर उपचार गराइरहेका छन् । भर्खरै उनलाई पहिलो चरणको केमो थेरापी दिइएको छ जसले सकारात्मक प्रतिक्रिया आएको भारतीय मिडियाले जनाएका छन् । तेस्रो स्टेजको क्यान्सर भएका कारण उनी उपचारका लागि अमेरिका जाने तयारीमा छन् । तर आफूलाई क्यान्सर पत्ता लाग्नु अगाडी नै साइन गरेका चलचित्रको काम भने दत्तले सकाउने तरखर गरिरहेका छन् । यसैले उनले अमेरिका जानु अगाडि चलचित्र ‘शमशेरा’को छायाङ्कन सक्ने योजना बनाएका छन् । यसैले सोमबारदेखि चलचित्रको छायाङ्कन सुरु गरिसकेका छन् । कोरोना भाइरसको बढ्दो सङ्क्रमण र सञ्जयको स्वास्थ्य अवस्थालाई हेरेर यसको निर्माण पक्षले छायाङ्कन सेटमा कडा सुरक्षा व्यवस्था गरेको बताइएको छ । सुटिङ युनिटका सबै सदस्यहरूको कोरोना टेस्ट गरेर सीमित मानिसको उपस्थितिमा चलचित्रको छायाङ्कन भइरहेको छ । समशेरा सँगै उनको केजीएफ २को छायाङ्कन बाँकी छ । यति बेला मुम्बईमा नै उपचार गराउँदै अभिनेता दत्त आफ्नो काम गरिरहेका छन् ।