सुशान्त सिंह आत्महत्या प्रकरणमा अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । सुशान्तकी प्रेमिका समेत रहेकी रियालाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको हो । सुशान्तले आत्महत्या गरे यता नै रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको आरोप लाग्दै आएको छ । यस प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको थियो । रियालाई तीन दिन सोधपुछ गरेपछि पक्राउ गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । पक्राउपछि उनको मेडिकल टेस्ट र कोरोना टेस्ट समेत गरिने छ । रियालाई लागु औषध लेनदेन विषयमा एनसीबीले थप अनुसन्धानका लागि पक्राउ गरेको हो । रिया आज बयानका लागि एनसीबीमा पुगेकी थिइन् । यसअघि ड्रग्स खरिद गरेको आरोपमा रियाका भाइ शोविक चक्रवर्तीलाई पनि पक्राउ गरिएको थियो । रियाले आफूले सुशान्तका लागि यी सबै काम गरेको बयान दिएको भारतीय मिडियामा उल्लेख छ ।