भारतीय टेलिसिरियलमा चर्चित अभिनेत्री सुरेखा सीकरीलाई मस्तिष्कको पक्ष घात भएको छ । सीकरी टेलिसिरियल 'बालिका वधू'मा हजुरआमाको भूमिकाबाट निकै लोकप्रिय भएकी थिइन् । पक्ष घात भए लगत्तै उनलाई मुम्बईको मुम्बई क्रिटी केयर अस्पतालको आईसियूमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर भएको बताइएको छ । सन् २०१८ मा उनी अभिनीत चलचित्र 'बधाई हो' रिलिज भएपछि पनि उनलाई मस्तिष्कको पक्ष घात भएको थियो । भारतीय मिडियाले सीकरीलाई मङ्गलवार बिहान जुस पिउँदै गर्दा मस्तिष्क घात भएको जनाएका छन् । उपचारका लागि भर्ना भएकी सुरेखाको आर्थिक अवस्था ठिक नभएको भनी हल्ला फैलिए पछि थुप्रै बलिउडकर्मीले सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । तर उनका म्यानेजरले भने यस आर्थिक अवस्था ठिक नभएको कुरा अस्वीकार गरेका छन् । उनी राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री समेत हुन् ।