बलिउड अभिनेता अक्षय कुमारको आज जन्मदिन परेको छ । अक्षयको ५३औँ जन्मदिनको अवसरमा उनको आगामी चलचित्र 'बेल बटम'को नयाँ लुक सार्वजनिक गरिएको छ । सन् १९९० देखी आफ्नो अभिनय यात्रा सुरु गरेका अक्षयले आफ्नो करियरमा हालसम्म १०० भन्दा चलचित्रमा काम गरिसकेका छन् । पछिल्लो समय उनले अभिनय गरेका चलचित्रले बक्स अफिसमा तहल्का मात्र मच्चाएका छैनन् उनलाई एक पर्फेक्ट इन्टर्टेनरको रूपमा पनि स्थापित गरिदिएको छ । भारतको अमृतसर, पन्जाबमा जन्मिएका अक्षयले अभिनेत्री ट्विङ्कल खन्नासँग वैवाहिक सम्बन्ध गाँसेका छन् । अभिनय यात्राको सुरुमा उनी अभिनीत चलचित्र सफल हुन नसके पनि सन् २००० मा रिलिज भएको चलचित्र 'हेरा फेरी' उनको करियरमा टर्निङ साबित भयो । त्यसयता उनले पछाडि फर्केर हेर्नु परेको छैन । यद्यपि त्यस यता पनि उनले धेरै चलचित्रबाट असफलता हात पारे । पछिल्ला केही वर्षमा भने अक्षयले एक पछि अर्को हिट चलचित्र दिइरहेका छन् यसै गरी सन् २०१९ उनको लागि निकै सुखद रह्यो ।पछिल्लो समय उनी चलचित्र बेलबटममा व्यस्त छन् । जसको छायाङ्कनको लागी उनी स्कटल्यान्ड पुगेका छन् ।