बलिउड अभिनेत्री कङ्गना रनावतको मुम्बईस्थित अफिसमा बिएमसीले डोजर चलाएको छ । बिएमसीले यसअघि उनीसँग अवैध निर्माणको भएको भन्दै सूचना टाँस गरेर उनीसँग सो भए नभएको जानकारी मागेको थियो । तर धम्कीका बाबजुद मुम्बई आउँदै गरेकी कङ्गना आफ्नो अफिस पुग्न नै नपाउँदै मुम्बईको महानगर विकास निगमले भत्काउन सुरु गरेको हो । अफिसको निर्माण अवैध तरिकाले भएको भन्दै २४ घण्टाको अल्टिमेटमसहित नोटिस टाँसेको थियो । निगमले अनुगमनका क्रममा त्यहाँ अवैध निर्माण गरिएको पाइएको र उनले दिएको जवाफ सही नभएको भन्दै अफिस भत्काउन सुरु गरेको जनाएको छ । निगमले अफिसको भुईँ तलामा भान्सा, शौचालय, क्याबिन, पूजा कोठासहितका कयौँको संरचनाको निर्माण अवैध तरिकाले गरेको दाबी गरेको छ ।

आफ्नो कार्यालय भत्काइएको खबर पाएपछि कङ्गनाले ट्विटर मार्फत यसको प्रतिक्रिया दिएकी छिन् । उनले 'यो मेरो लागि एउटा घर होइन, राम मन्दिर हो । आज त्यहाँ बाबर आएको छ । आज इतिहासले आफूलाई फेरि दोहोर्‍याएको छ । राम मन्दिर फेरि भत्किनेछ तर याद राख बाबर यो मन्दिर फेरि बन्नेछ ।' लेखेकी छिन् । कङ्गनाले बीएमसीको विरुद्धमा उच्च न्यायालयमा उजुरी समेत दिएकी छिन् । कङ्गनालाई शिव सेनाका नेता कार्यकर्ताले आरोप प्रत्यारोपका क्रममा मुम्बई नआउन धम्की दिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले कङ्गनालाई कमाण्डोसहित ११ जना जवान रहने गरी वाई श्रेणीको सुरक्षा दिएको छ ।