बलिउड नायिका कङ्गना रनावतको मुम्बई स्थित अफिसमा बुधवार बिएमसीले डोजर चलायो । अवैध रूपमा निर्माण भएको भनि बीएमसीले उक्त भवनको तल्लो तलाको शौचालय, पेटी, क्याबिन, पूजा कोठालगायत भाग अवैध ढङ्गले बनाएको भन्दै ती संरचना भत्काएको हो । पछिल्लो समय विवादमा तानिएकी कङ्गनालाई भारतको केन्द्रीय सरकारले कडा सुरक्षा दिएको छ । उनी कडा सुरक्षाका बिच बुधवार अपराह्न मुम्बई पुगेकी थिइन् । कङ्गनाले यस कार्यलाई 'प्रजातन्त्रको मृत्यु' भएको बताएकी छिन् । आफ्नो घरको कुनै पनि संरचना अवैध वा गैर कानुनी नभएको दाबी समेत गरिरहेकी छिन् । मुम्बईको विमानस्थलमा कङ्गनाको समर्थक र विरोधीहरूले नारा लगाएका थिए । उनलाई भिआइपी गेटबाट बाहिर निकाल्न नसकेपछि सुरक्षाकर्मीले दोस्रो गेट प्रयोग गर्नु परेको थियो । विमानस्थलबाट सिधै खारस्थित आफ्नो घर पुगेकी कङ्गनाले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकेरलाई सिधै चुनौती दिइन् ।

उनले आज आफ्नो घर टुटेको र भोलि तिम्रो (उद्धव ठाकेर) घमण्ड टुट्नेछ । उनी लेख्छिन्, 'तैँले फिल्म माफियासँग मिलेर मेरो घर भत्काइस् अनि बद्ला लिइनस् ? आज मेरो घर तोडेको छस्। भोलि तेरो घमन्ड टुट्छ । यो समयको खेल हो। याद गर् सधैँ एकनास हुँदैन ।' उनले सबै भारतीय नागरिकसँग वाचा गर्दै अयोध्याको विषयमा मात्र होइन, कश्मीरको विषयमा पनि एउटा चलचित्र बनाउने देश र जनतालाई सचेत गराउने बताएकी छिन् ।