कोरोना भाइरस महामारीले सम्पूर्ण विश्व नै एक किसिमले ठप्प भएका बेला बलिउड अभिनेता सोनु सूद भने निकै व्यस्त रहे । कोरोना महामारीले भारतलाई छोप्दै जाँदा सूदले शान्तिको सास फेर्न सकेनन् ।प्रवासी मजदुरदेखि काम छुटेर घर जान नपाएर अप्ठेरोमा परेकाको पिडाले उनलाई निदाउन दिएनन् । त्यसैले उनले दिन रात नभनि आफ्नो स्वार्थ भन्दा पर रहेर पैदल हिँडेर घर फर्किरहेकाहरूलाई प्लेन, बस र रेलमार्फत पठाउने, रासन वितरणदेखि अलपत्र परेकाहरूको उद्धार गरे । यती मात्र होइन उनले गाँस खोसिएकाको पेट भर्ने र रोजगारी गुमाएकाका लागी अवसर दिने सम्मका काम गरे । उद्धारदेखी अन्य आर्थिक सहयोग गरिसकेका सूदले अब भने शिक्षा क्षेत्रमा सहयोग पुर्याउने निर्णय लिएका छन् । कोरोना महामारीले गर्दा भौतिक रूपमा पढाइ हुने सम्पूर्ण माध्यम बन्द भएर भर्चुअल माध्यममार्फत स्कुल, कलेजका विद्यार्थीहरूले पढाइ गरिरहेका छन् । तर, भारतका सबै विद्यार्थीसँग इन्टरनेट लगायत अन्य आवश्यक भौतिक बस्तुको पहुँच सम्भव छैन ।
त्यसैले पहुँच एवं आर्थिक अवस्था राम्रो नभएका विद्यार्थीहरूका लागि सुदले नयाँ योजना ल्याएका हुन् । उनले आफ्नी स्वर्गीय आमा प्राध्यापक सरोज सुदको नाममा छात्रवृत्ति उपलब्ध गराउने भएका छन् । उनकी आमा सरोजले विद्यार्थीहरूलाई निःशुल्क पढाउँथिन् र आफ्नो सेखपछि पनि शिक्षा क्षेत्रमा योगदान पुर्याउन आफूलाई आग्रह गरेकोका उनको नाममा अनलाइन क्लासको पहुँच नभएका जेहनदार विद्यार्थीहरूलाई उनले सहयोग गर्ने योजना बनाएका हुन् । यस कामलाई उपलब्धि मूलक बनाउन विभिन्न विश्वविद्यालयसँग सहकार्य गरिएको छ । सूदको सहयोग योजना अनुसार मेडिकल, इन्जिनियरिङ, आर्टिफिसिय इन्टेलिजेन्स, रोबोटिक एण्ड अटोमेसन, साइबर सेक्युरिटी, डाटा साइन्स, फेसन, पत्रकारिता र बिजनेस स्डडिजलाई छात्रवृत्ति दिइने छ ।