बलिउड अभिनेत्री तथा समाजवादी पार्टीकी सांसद जया बच्चन र अभिनेत्री कङ्गना रनावत बिच वाक युद्ध सुरु भएको छ । बच्चनले मङ्गलवार राज्यसभामा ड्रग्सका नाममा बलिउडलाई बदनाम गर्ने षडयन्त्र भइरहेको र ड्रग्स छानबिनका नाममा विश्वमै नाम कमाएको बलिउड उद्योगलाई बदनाम गर्ने षडयन्त्र चलिरहेको बताएकी थिइन् । उनले कसैको पनि नाम नलिई 'केही मानिसहरूका कारण सिङ्गो बलिउड नगरीको छविलाई दुषित गर्न मिल्दैन । मलाई लाज लाग्छ कि, लोकसभामै हाम्रा एक सदस्य जो चलचित्र उद्योगसँग जोडिएका छन्, उनले यसको विरुद्धमा बोलेका छन् । यो लाजको विषय हो । जुन थालमा खायो सोही थालमा थुक्न मिल्दैन ।' भनेकी थिइन् । जयाले यस किसिमको अभिव्यक्ति दिएपछि अभिनेत्री रनावतले आक्रोश व्यक्त गरेकी छन् । उनले ट्विट गर्दै 'यदि मेरो ठाउँमा तपाईँकी छोरी हुन्थिन् र तपाईँको छोराले फाँसी लगाएको भए के यही भन्नुहुन्थ्यो ?' भनि प्रश्न गरेकी छिन् । उनले सोधेकी छिन्, 'मेरो ठाउँमा तपाईँकी छोरी श्वेतामाथि हातपात हुन्थ्यो, ड्रग्स दिइएको हुन्थ्यो र शोषण गरिएको हुन्थ्यो भने के तपाईँ यही भन्नुहुन्थ्यो ? अभिषेकले ह्यारेसमेन्टका कारण आत्महत्या गरेको भए तपाईँ के गर्नुहुन्थ्यो ? थोरै त सहानुभूति देखाउनुहोस्' ।