बलिउड अभिनेता सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणले यति बेला निकै फरक रूप लिइरहेको छ । यस घटनामा लागु औषध जोडिएको खुलेपछि नार्कोटिक्स कन्ट्रोल ब्युरोले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा रियाले बयानमा चर्चित अभिनेत्रीहरूको नाम लिएको खबर बाहिरिएसँगै बलिउडमा ठुलो हलचल मच्चिएको छ । यसै बिच लागु औषध मुद्दामा अभिनेता सलमान खानको संलग्नता रहेको भनी भारतीय मिडियाले उल्लेख गरेका छन् । सुशान्तकी पूर्व म्यानेजर जया साहासँगको सोधपुछमा ट्यालेन्ट म्यानेजमेन्ट एजेन्सी क्वानको नाम पनि जोडिएको छ । क्वानमा सलमान खानको पनि शेयर रहेको भन्ने खबरहरू बाहिर आएका छन् । जसको कारण यसमा सलमानको अप्रत्यक्ष संलग्नता हुनसक्ने खबरहरू तीव्र रूपमा फैलियो । क्वानकी कर्मचारी करिश्माले दीपिका पादुकोणलाई ड्रग्स सप्लाई गरेको च्याटमा देखिएको छ । क्वान कम्पनीका सीईओ ध्रुवलाई एनसीबीले सोधपुछका लागि नोटिस पठाइसकेको छ ।

मिडियामा अभिनेता खानको संलग्नताको खबर फैलिएपछि सलमान खानको कानुनी समूहले विज्ञप्ति जारी गरेको छ । डीएसके लिगलका व्यवस्थापकीय साझेदार आनन्द देसाईले विज्ञप्ति जारी गरेर क्वानमा सलमानको कुनै शेयर नरहेको बताएका छन् । विज्ञप्तिमा सलमानको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्वानसँग र यसको अन्य कुनै समूहमा पनि कुनै शेयर नभएको उल्लेख छ । त्यसैले सलमानको नाम जोडेर झुटो प्रसार नगर्न आग्रह समेत गरेको छ । यस प्रकरणमा सारा अलि खान, रकुल प्रीत सिंह, श्रद्धा कपूर, दीपिका पादुकोण, दिया मिर्जा र नम्रता शिरोडकरको नाम जोडिइसकेको छ ।