विश्व चर्चित अस्कर अवार्डको लागी आवेदन खुल्ला भएको छ । ९३औँ अस्कर अवार्डमा सहभागी हुन चाहने नेपाली फिल्मका लागि आवेदन खुल्ला गरिएको हो । नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सोमबार एक विज्ञप्ति जारी गर्दै अस्करमा प्रतिस्पर्धा गर्न इच्छुक नेपाली फिल्मकर्मीले असोज १३ गतेदेखि असोजको २९ गतेभित्र नेपालको अस्कर कमिटीलाई फिल्म बुझाउन आग्रह गरेको छ । हरेक वर्ष फ्रेब्रुअरीमा हुँदै आएको अवार्ड समारोह कोरोना महामारीका कारण दुई महिना पर धकेलिएको थियो । अब अस्कर अवार्ड सन् २०२१ अप्रिल २५ मा लसएञ्जल्सको डल्बी थिएटरमा हुनेछ । महामारीका कारण अस्करले सहभागिताका लागि केही नियम हेरफेर गरेको छ । परिवर्तित नियममा महामारीका कारण रिलिज गर्ने समय तोकेर पनि रिलिज हुन नसकेको फिल्मले पनि सहभागिता जनाउन पाउने प्रावधान छ । अघिल्ला वर्षहरूमा कुनै पनि फिल्म हलमा रिलिज भएर हप्ता दिनसम्म चलेकै हुनुपर्ने नियम थियो । सम्बन्धित फिल्मले सरकारबाट मान्यता प्राप्त सिनेमा हलबाट फिल्म रिलिज रोकिएको पत्र नेपालको अस्कर कमिटीलाई बुझाउनु पर्नेछ ।