बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लागेपछि बलिउडमा एक किसिमको तरङ्ग फैलिएको छ । कलाकार पायल घोषले यौन शोषणको आरोप लगाउँदै उजुरी समेत दर्ता गरिसकेकी छिन् । उजुरी दिएको वर्सोवा पुलिस स्टेसनले कुनै एक्सन नलिएको भन्दै पायल आक्रोशित भएकी छिन् । उनले कारबाही अघि नबढाए भोक हडताल गर्ने चेतावनी दिएकी छन् । प्रहरीले कारबाही अघि नबढाएपछि पायलले आज महाराष्ट्रका गभर्नर भगतसिंह कोशियारीसँग भेट गरेर ध्यानाकर्षण गराउँदै छिन् । उजुरी दर्ता गराएको एक साता भइसके पनि आफूलाई सोधपुछका लागि बोलाएको तर आरोपी अनुरागलाई सोधपुछमा नबोलाएको, गिरफ्तार नगरेको भन्दै उनले असन्तुष्टि जनाएकी हुन् । यस बारे कुराकानी गर्न पायलले सोमबार मात्रै केन्द्रीय मन्त्री रामदास आठवलेसँग भेट गरेकी छिन् । भेटपछि मन्त्रीकै उपस्थितिमा पत्रकार सम्मेलन गर्दै पायलले आज महाराष्ट्रका गभर्नर कोश्यारीलाई भेट गर्ने जानकारी दिएकी थिइन् ।