कोरोना महामारीले विश्वकै ठुलो मध्यको फिल्म इन्डस्ट्री बलिउडमा अरबौँको घाटा लाग्यो । न त रिलिजको तयारीमा बसेका चलचित्र रिलिज हुन पायो न त नयाँ चलचित्र नै बन्न पाए । यसले सबै कलाकार तथा फिल्मकर्मीलाई घरमा नै बस्नुपर्ने स्थिति सृजना गरिदियो । यस क्रम चलेको छ महिना भन्दा बढी भए पनि अझै कोरोना महामारी सुस्ताएको छैन । तर सधैँ घरमा नै थुनिर बसेर साध्य नहुने भएपछि बलिउड फिल्म मेकरहरुले चलचित्र निर्माणको काम सुरु गरेका छन् । कोरोना महामारी पछि सबैभन्दा छिटो चलचित्र छायाङ्कन गर्ने अभिनेता बनेका छन् अक्षय कुमार । यसर्थ उनलाई कोरोना महामारी र लकडाउन फापेको छ । उनले सामान्य अवस्थाजस्तै कोरोना कालमै फिल्मको सुटिङ सुरु गरेर सक्काएका हुन् । फिल्म सम्बन्धी सम्पूर्ण काम रोकिएका बेला अक्षयले चलचित्र 'बेलबटम'को सुटिङ सकेका हुन् । अक्षयले बिहीबार चलचित्रको पोस्टर समेत सार्वजनिक गरेका छन् । अक्षयले इंस्टाग्राममा पोस्टर शेयर गर्दै फिल्मको सुटिङ पुरा भएको जानकारी दिएका थिए ।

योसँगै लकडाउनमा सुटिङ सुरु भएर लकडाउनमै सुटिङ सक्काउने विश्वकै पहिलो फिल्म बनेको भारतीय मिडियाले दाबी गरेका छन् । गत अगस्टदेखि सेप्टेम्बरसम्म बेलायतमा चलचित्र छायाङ्कन गरिएको थियो भने कोरोना कालमा सुटिङ सक्काउँदा पनि चलचित्रका कुनै पनि सदस्यलाई सङ्क्रमण भएको छैन । रञ्जित एम तिवारीको निर्देशन रहेको फिल्मको कथा असीम अरोरा र परवेज शेखले लेखेका हुन् । यसमा अक्षयका साथमा वाणी कपुर र लारा दत्त समेतको अभिनयाँ रहने छ ।