लागु औषध दुर्व्यसनी तथा ओसारपसार सम्बन्धी छानबिनमा अभिनेता शाहरुख खान र अर्जुन रामपालको नाम जोडिएको छ । यस अघि बलिउड नायिकाहरूको नाम जोडिँदै आएको थियो जसले बलिउड प्रेमीलाई अचम्ममा पारेको थियो । अब भने बलिउडका सुपर स्टार साहरुख र चर्चित अभिनेता अर्जुनको नाम जोडिए पछि ठुलो हलचल मच्चिएको छ । यी दुवै अभिनेताको ड्रग्स सेवनमा कनेक्सन देखिएको नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)लाई उद्धृत गर्दै भारतीय मिडियाले खबर बाहिर ल्याएका छन् । एनसीबी अनुसन्धानका क्रममा चार बलिउड नायकको नाम जोडिएको हो । ड्रग्स केसमा नाम जोडिने बलिउड नायकहरूमा शाह रुख र अर्जुनका साथै रणवीर कपूर र डिनो मोरिया पनि रहेका छन् । भारतीय मिडिया दैनिक भाष्करले एनसीबीका अधिकारीको श्रोतलाई उदृत गर्दै अर्जुन रामपालले शाह रुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएको जनाएको छ । छानबिनमा देखिएको ए, डी र एस कोडको पुरा नाम अर्जुन रामपाल, डिनो मोरिया र शाह रुख खान भएको समाचारमा उल्लेख छ । यद्यपि एनसीबीले आधिकारिक रूपमा केही खुलाएको छैन र नाम जोडिएका अभिनेताहरूले पनि केही बोलेका छैनन् । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरण सँगै सुरु भएको लागु औषध अनुसन्धानमा यस अघि बलिउड अभिनेत्रीहरू दीपिका पादुकोण, रकुलप्रीत सिंह, श्रद्धा कपुर र सारा अली खान एनसीबीको छानबिनमा तानिइसकेका छन् ।