बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्या नभएको ठहर गरिएको छ । एम्सको फरेन्सिक मेडिसिन विभागले गठन गरेको अनुसन्धान समितिले यो प्रमाणित गरेको हो । छानबिन समितिले उनको मृत्युको कारण कुनै किसिमको हत्या नभएर आत्महत्या नै भएको ठहर्‍याएको हो । छानबिन समितिका अध्यक्ष डाक्टर सुधीर गुप्ताले यो झुन्डिएर आत्महत्या भएको केस भएको बताएका छन् । उनले थपे, 'उनको शरीरमा अन्य कुनै भागमा चोटपटक देखिएको छैन र झुन्डिनु मृत्युको मुख्य कारण देखिएको छ। हामीले कुनै सङ्घर्षको प्रयास गरेका सङ्केत शरीरमा उनका कपडाहरूमा पनि देखेनौँ' । एम्सले भिसेरा परीक्षण गरेको आधारमा यस्तो निचोड निकालेको हो । भिसेर परीक्षणमा उनको शरीरमा विषादी जन्य पदार्थ नदेखिएको समेत एम्सले जनाएको छ ।

यस अघि मुम्बई प्रहरीले पनि बिलकुल यही किसिमको नतिजा सार्वजनिक गरेको थियो । गत जुन १४ मा  मुम्बई स्थित आफ्नै अपार्टमेन्टमा सुशान्त झुन्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत्यु पश्चात् उनका समर्थक र परिवारले हत्या भएको भनी अनुसन्धानको माग गरेका थिए ।