बलिउड अभिनेता अक्षय कुमारले बलिउडमा ड्रग्सको समस्या भए पनि सबैलाई एउटै नजरबाट हेर्न नहुने बताएका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै यस कुरा व्यक्त गरेका हुन् । नायक सुशान्त सिंह राजपुतको निधन उठेको ड्रग्स मुद्दा यति बेला उत्कर्षमा छ । यस मुद्दामा बलिउडका ए ग्रेड अभिनेत्री देखी सुपरस्टार अभिनेतासम्मको नाम जोडिए पछि अक्षय बोलेका हुन् । उनी भन्छन्, 'हिजोआज ड्रग्सको बारेमा खुबै कुरा हुने गरेको छ । दिलमा हात राखेर बलिउडमा ड्रग्सको समस्या छैन भनेर म झुटो बोल्न चाहन्न । तर, हरेक मानिस यसमा जोडिएको छ भन्ने हुँदैन । ड्रग्स एउटा गम्भीर मुद्दा हो र मलाई आशा छ कानुनले यो विषयमा गम्भीर तरिकाले अनुसन्धान गर्नेछ ।' उनले बलिउडको बारेमा बोल्दै 'स्टारको रूपमा हामी परिचित छौ, तर बलिउडलाई दर्शकले बनाएका हुन् । हामीले चलचित्रको माध्यमबाट देशको संस्कृति विश्वमाझ पुर्‍याउने काम गरेका छौ । जब जब देशका जनताको भावनाको कुरा आउँछ, हामीले त्यसलाई चलचित्रको माध्यमबाट प्रस्तुत गर्ने कोसिस गरेका छौँ' भनेका छन् । उनले पुरै बलिउडलाई एउटै बदनाम दुनियाँको नजरले नहेरिदिन आग्रह समेत गरेका छन् । उनले सञ्चार माध्यमलाई लक्षित गर्दै मिडिया निकै शक्तिशाली हुने र यसले आवाज उठाउन छोड्नु नहुने समेत बताएका छन् । यधय्पी मिडियाले कहिले पनि संवेदनशीलतालाई छोड्नु नहुने उनको तर्क छ ।