अभिनेता सुशान्त सिंहको मृत्यु पश्चात् उनकी प्रेमिका रिया चक्रवर्ती प्रहरीको अनुसन्धानमा छिन् । सुशान्तको आत्महत्या प्रकरणमा रियाको हात भएको भनी उनी माथि अनुसन्धान हुनुपर्ने माग राखिएको थियो । जसको कारण उनीमाथि अनुसन्धान सुरु भएको थियो । यसै प्रकरणले तानिएको ड्रग्स मुद्दामा केही हप्तादेखि रिया जेलमा थिइन् । एक महिना अनुसन्धानका क्रममा जेलमा रहेकी उनलाई मुम्बईको उच्च न्यायालयले जमानत दिएको छ । जमानत पाए पनि रियाले विदेश यात्रा गर्दा प्रशासनको अनुमति लिनुपर्ने छ । यसै गरी , मुम्बईबाट बाहिर जानुपर्दा पनि रियाले प्रहरी अधिकारीलाई यो कुराको जानकारी दिनुपर्नेछ । साथै रिया १० दिनको अन्तरमा प्रहरी कार्यालयमा हाजिर हुनुपर्ने छ । यसअघि मङ्गलवार सेसन कोर्टले उनलाई अक्टोबर २० तारिखसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । यसपछि, रियाका वकिलले जमानतको माग गर्दै उच्च न्यायालयमा अपिल गरेकी थिइन् । उनले, २ पटकसम्म जमानतका लागि अदालतसँग अपिल गरेकी थिइन् । तर, उनको दुवै पटकको अपिल खारेज भएको थियो । बुधवार अदालतले उनलाई १ लाख धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो । रिया जमानतमा छुटे पनि उनीसँगै अनुसन्धानमा रहेका उनका भाइ सोविक भने जेलमै छन् । उनलाई ड्रग्स सिन्डिकेटको सक्रिय सदस्य भएको दाबी गर्दै एन्सिबिले पक्राउ गरेको हो ।