लामो समयसम्म पनि भारतमा कोरोना कहरमा कमी नआउँदा स्थिति असामान्य बनेको छ । विश्वको ठुलो मध्यको एक फिल्म इन्डस्ट्री बलिउड ६ महिना बढी समय देखी प्रभावित हुँदा निराशा फैलिएको छ । अब भने लामो समयसम्म पनि भारतमा कोरोना सङ्क्रमणमा कमी नआउँदा अब भने बलिउड फिल्म मेकर चुप नबस्ने भएका छन् । केही साता यता बलिउडमा कोरोना महामारीकै बिच सतर्कता अपनाएर चलचित्र सम्बन्धी कामहरू सुरु भएका छन् । यसैबिच अभिनेत्री आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायाङ्कन सुरु भएको छ । सञ्जय लीला भन्सालीको निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन जनवरीभित्र पूरा गर्ने तयारी गरिएको छ । यति बेला चलचित्रको छायाङ्कन मुम्बईको फिल्म सिटीमा भइरहेको छ । सुटिङका क्रममा चलचित्रका कलाकार र अन्य सदस्यहरूको समय बचाउन र कोरोना सङ्क्रमणको जोखिम कम गर्न चलचित्रको छायाङ्कन रातको समयमा भइरहेको छ । बुजिए अनुसार टिमका सदस्यहरू दिनभर आराम गरेर रातभर काम गरिरहेका छन् । चलचित्रको छायाङ्कनका क्रममा चलचित्रसँग आबद्ध केही सदस्यहरूलाई कोरोना सङ्क्रमित पनि देखिएको थियो । तर, पनि चलचित्रको टिमले छायाङ्कन रोकेको छैन । अभिनेत्री आलिया पनि चलचित्रको छायाङ्कनको लागी उत्साहित भएको बताइएको छ । गंगुबाई काठियावाडीमा अभिनेता अजय देवगनको केमियो भूमिका हुने र आलियाको अपोजिटमा रणवीर सिंह हुने चर्चा छ । यो चलचित्र सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा आधारित छ ।