गायक तथा टेलिभिजन रियालिटी शोका सञ्चालक आदित्य नारायण झाले विवाह गर्ने भएका छन् । उनले आफ्नी प्रेमिका अभिनेत्री श्वेता अग्रवालसँग लगन गाँठो कस्न लागेका हुन् । केही समय अघी आदित्यको विवाह गायिका नेहा कक्करसँग हुने चर्चाले बलिउड तताएको थियो । इन्डियन आइडलको जज समेत रहेकी नेहा र शोका सञ्चालक आदित्यको विवाहको घोषणा कार्यक्रमको सेटमा आदित्यका बाबु गायक उदित नारायण झाले गरेका थिए । नेहासँगको विवाह कार्यक्रमको कथा अनुसार भएको आदित्य बताउँछन् । उनी भन्छन्, त्यो केबल मजाक थियो । यति बेला भने १० वर्षदेखि प्रेम सम्बन्धमा रहेका आदित्यले बिहेको घोषणा गरेका हुन् । स्वेताले बलिउडका साथै दक्षिण भारतीय फिल्ममा प्रभास तथा किच्चा सुदीपजस्ता कलाकारसँग काम गरेकी छन् । आदित्य र श्वेताको आफ्नो भेट सन् २०१० मा प्रदर्शनमा आएको चलचित्र 'शापित'को सेटमा भएको थियो । आदित्यले भेट भएसँगै एक अर्कालाई मन पराउन थालेको बताएका छन् ।
श्वेतासँगको सम्बन्धबारे आदित्य भन्छन्, 'सुरुआतमा श्वेता एक असल साथी बन्न चाहन्थिन्। किनकि हामी आफ्नो करियरमा फोकस हुन चाहनथ्यौं। त्यस बेला हाम्रो उमेर पनि सानै थियो। हरेक सम्बन्धजस्तै हामीले पनि आफ्नो सम्बन्धमा कैयौँ उतार चढाव देख्यौ, भोग्यौँ, पार गर्यौँ' । १० वर्षको सम्बन्धलाई बिहेमा परिणत गर्न दुबैका परिवार राजी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्वेतासँग आफूले यो बर्षको अन्त्यमा बिहे गर्ने तयारी गरेको आदित्यले बताएका छन् । नेहा आफ्नो राम्रो साथी मात्र भएको उनी बताउँछन् । नेहाले पनि हालै आफू रोहनप्रीत सिंहसँग प्रेम सम्बन्धमा रहेको सार्वजनिक गरेकी छिन् ।